कोरोनाको सङ्कटले सिकाएका जान्नैपर्ने ३ महत्वपर्ण सत्यहरू
संसार आज नोबेल कोरोना भाइरससँग (कोभिड १९) लड्ने उपाय खोज्दैछ। यो विश्वव्याधिमाथी कसरी विजयी हुन सकिन्छ भनी अझै पनि यसबाट छुटकारा खोजिरहेका छन्। हुन त अहिले धेरै जसो देशहरूमा भ्याक्सिनहरू पुगिसकेका छन्। नेपालमा पनि यो आइपुगिसकेको छ तर खै कतिले पो यसको प्रयोग गर्दैनछन्। भ्याक्सिन नहुँदा सबैतिर भ्याक्सिन, भ्याक्सिन भन्दै हिँड्थ्यो, आइसकेपछि मानिसहरू प्रयोग गर्न डराइरहेका छन्।
यसै सन्दर्भमा यो महासङ्कटले सिकाएका अत्यतन्तै तीन महत्वपूर्ण वास्तविकताहरू लेख्दैछु। यी सत्य कुराहरू हामीलाई थाहा भए तापनि हामी बिर्सिरहन्छौं। विश्वव्याधिको आगमनले पारेको स्वास्थ्य सङ्कटले एक पटक फेरि यसलाई स्मरण गराएको छ। यी सत्यताहरू जाने पनि नजाने झैं गरेर जिउनु भन्दा यथार्थलाई बुझेर आफ्नो जीवनलाई सहि रूपले जिउनु चाहीँ सबै भन्दा बुध्दिमानी कुरा हो। यो कोरोनाको सङ्कटले जीवन सम्बन्धी जान्नैपर्ने महत्वपर्ण सत्यहरू सिकाएका छ। यी तीन सत्यहरू यसप्रकार छन्।
१. मानिस कमजोर छ।
आधुनिकतावाद, वैज्ञानिक आविष्कार, अत्याधुनिक शक्तिको उत्पादन आदिले मानिसलाई घमण्डी बनाएको छ। आफूलाई सबैभन्दा शक्तिशाली ठान्छन्। शक्तिको होडबाजी चलिरहेको बेला कोरोनाले मानिस कति कमजोर छ भनी मानिसको हैसियत देखाइदिएको छ। अझै पनि कति धेरै देशहरू पहिले झैँ खुल्ला हुन सकेको छैन। मानिसहरू सामान्य अवस्थामा अउन निकै समय लाग्नेछ। विस्तारै यस कमजोरीबाट उठ्ने निकै प्रयास गरिरहेका छन्।
२. मानिस नाजुक छ।
मानिस असुरक्षित छ। कसैले पनि हाम्रो सुरक्षाको ग्यारेन्टी लिन सक्दैन। मानिस नता हिमालमा सुरक्षित छ, नता तराईमा। नता धनले उसलाई बचाउन सक्छ नता शक्तिले। हामीले धनी ढलेको देखेका छौं। पहलमान लडेको देखेका छौं। अनि बुद्धिमान् पतन भएको पनि देखेका छौं। मानिसमाथि जुनसुकै बेला आक्रमण हुन सक्छ। इतिहास साक्षी छ। अति कमजोर मानिने कोरोनाबाट शक्तिशाली देशहरू त्रसित छन्। लाखौं मरे। करोडौं प्रभावित भए। यो सङ्ख्या गुणात्मक रूपले बढ्ने क्रममा छ। अझै पनि यसबाट छुटकारा भने पाउन समय लाग्ने निश्चित छ।
मेरो मनमा अझै ताजा याद छ २०७२ सालको विनाशकारी भूकम्पको। देशलाई धेरै हल्लायो। सबैतिर घर भत्कियो। कति मरे। कतिले आफ्ना मानिस गुमाए। सबैतिर शोकले भरेको थियो त्यो समय। त्यतिखेर मैले सिकेको पाठचाहीँ 'मानिसलाई जुनसुकै बेला जे पनि हुन सक्छ'। “जबसम्म परमप्रभुले बनाउनुहुन्न, बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ। जबसम्म परमप्रभुले सहरको रक्षा गर्नुहुन्न, पालेहरूको पहरेदारी व्यर्थ हुन्छ।” (भजन १२७:१)।
३. मानिस मरणशील छ।
मानिसको मृत्यु निश्चित भए तापनि कहिल्यै मर्नुपर्दैन भन्ने जसरी जीवन बिताइरहेका छन्। मर्ने इच्छा कसैलाई हुँदैन। स्टिभ जब्स भन्छन्, “कोही मर्न चाहदैनन्। स्वर्ग जान इच्छा गर्नेहरू पनि मर्न चाहदैनन्। तथापि मृत्यु सबैको गन्तव्य स्थान हो।” एउटा गीत जुन धेरै चल्यो नेपालमा, त्यो गीतले पनि मर्ने कुराको यथार्थता बताउँदछ। यो नाइँ नभन्नु ल-२ को गीत -
मर्ने कसैलाई रहर हुदैन, तर नमरेको प्रहर हुदैन, भागेर जाऊँ कुन ठाऊँ जाऊँ, मान्छे नमर्ने शहर हुदैन।
जन्मदै मृत्युको दिन गन्ती सुरु हुन्छ। तर मानिसले यो यथार्थ भुलिठाउँछन्।
निश्कर्ष
हाम्रो जीवनको वास्तविकता यही नै हो। यदि सबै दुःख सहेर पनि यसबाट पार हुन चाहने हो भने, एक जना त्यस्तो व्यक्ति हुनुहुन्छ, जसले यसप्रकारका सबै परिस्थिति भोग्नुभयो र विजयी हुनुभयो। उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। जो यस संसारमा हामी जस्तै कमजोर, नाजुक र मरणशील मानिसको रूपमा आउनुभयो र जीवित भई उठ्नुभयो। उहाँमा मात्रै यो जीवन सम्भव छ । उहाँले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हु। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ । अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन (यूहन्ना११:२५,२६)।” उहाँमा विश्वास गर्नेलाई अनन्त जीवन छ ।