किन येशु मात्र मुक्तिको एउटै बाटो हुनुहुन्छ ?
मानिसहरू तत्कालीन संसारमा, पापलाई पुनः परिभाषित गर्ने कोसिस गरे तापनि अधिकांश मानिसहरूलाई भित्री हृदयमा आफूले पाप गरेको थाहा हुन्छ। प्राय: सबैमा आफ्नो दोषको भावना छ भनेर थाहा छ। धेरैले यसबाट छुटकारा पाउने भरपुर कोसिस गरिरहेका छन् तर असफल रहेका छन् । पाप स्पष्ट छ र यसको समाधान गर्ने प्रयास हाम्रो लागि साँच्चै चुनौतीपूर्ण छ। तर बाइबलले यसको समाधान दिन्छ - येशू ख्रीष्टमाथिको हाम्रो विश्वास।
येशू मात्र किन? यो दाबी अरु गुरुहरुमा पनि हुन सक्छ नि? होइन। म यस बारेमा आगामी दिनमा लेख्नेछु। तर म यहाँ प्रस्तुत गर्नेछु किन येशू मात्र मुक्तिको बाटो हुनुहुन्छ। मैले बाइबलबाट अत्यन्तै महत्त्वपूर्ण ५ वटा महत्त्वपूर्ण कारणहरू दिएको छु।
१. येशूले मात्र मुक्ति दिने दाबी गर्नुहुन्छ।
· येशूले मात्र पितालाई चिन्नुहुन्छ र उहाँलाई मात्र प्रकट गर्न सक्नुहुन्छ।
मत्ती ११:२५-२७, त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो। “मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ।”
· उहाँ एक मात्र बाटो, सत्य र जीवन हो।
यूहन्ना १४:६, येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”
· मुक्ति दिने अधिकार उहासँग मात्र छ।
यूहन्ना १७:१-२, यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्। किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्।”
· उहाँको मृत्यु र पुनरूत्थानले मुक्तिको लागी अवश्यक सबै अधिकार प्राप्त गर्नुभयो।
लुका २४:४६-४७, उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दु:ख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।”
मत्ती २८:१८-२०, तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
२. प्रेरितहरूले येशूलाई मात्र हाम्रो उध्दारक भनेर घोषणा गरे। तिनीहरूले मुक्ति अरू कुनै नाममा छैन भनी घोषणा गरे।
प्रेरित ४:१२, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।
३. येशूको धार्मिकताले सबैलाई पापबाट धार्मिकतामा सार्नुभयो।
रोमी ३:१७-१९, यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्।
रोमी ३:२२-२६, येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन, किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।
४. येशू मात्रै परमेश्वर र हामी बिचको एक मध्यस्थ हुनुहुन्छ।
१ तिमोथी २:५, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ– मानिस, ख्रीष्ट येशू।
५. येशूको मरण र रगत बहाइद्वारा मात्र उहाँले मानिसलाई छुटकारा दिनुभयो।
प्रकाश ५:९, तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।”
येशू ख्रीष्ट मात्र मानिसहरूलाई अनि सारा संसारलाई पापको बोझ र बन्धनबाट छुटकारा दिन सक्नुहुन्छ। उहाँमाथीको हाम्रो विश्वासबाट हामीलाई पाप र यसको दोषबाट मुक्ति छ। यसको साथै हामी परमेश्वरले बनाउनुभएको अनन्तको सुन्दर योजनामा हाम्रो सहभागीता हुनेछ। हाम्रो सबैको मोल उहाँले तिरीदिनुभयो। यो हाम्रो लागी सित्तैमा गरिदिनुभएको छ। त्यसको लागी हामीले येशूले गर्नुभएको काममा विश्वास गर्नुपर्दछ र उहाँको वचन अनुसार जीवन जिउनु पर्दछ।
“तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।” (यूहन्ना १:१२) 🙏
Praise the Lord.
ReplyDelete