मर्कूशकाे पुस्तकमा प्रस्तुत येशू ख्रिष्टकाे परिक्षालाई अध्ययन गर्दा
लेखक : शेषनाथ निराला
येशू ख्रिष्ट बप्तिष्माकाे अनुभव पछि, उहाँकाे अघि राखिएकाे कामलाई पूरा गर्न तयार हुनु अघि उहाँले पितासँग एक्लै समय बिताउनु पर्ने आवश्यकतालाई महशुस गर्नुभयो। बप्तिष्मा पछि स्वर्गबाट आवाज आयो, जहाँ येशूमाथीकाे मसिहकाे कर्तव्यलाई पिताबाट सार्वजनिक समर्थन भएको थियो, जुन उहाँकाे शत्रु लगायत हरेकले सुन्ने प्रकारको थियो । यो मसिह सम्बन्धी शत्रुहरूकाे निम्ती जानकारी मात्र थिएन तर याे शत्रुकाे लागी एउटा खतरा पनि थियो। त्यसैले तत्कालै शैतानले येशूकाे काम अर्थात परमेश्वरकाे राज्यकाे प्रचारमा अवरोध पुर्याउने हिसाबले परिक्षा गर्यो। यस किसिमको परिक्षा दोहोरिरहेको देखिन्छ। यस किसिमको परिक्षा र संघर्ष येशूको क्रुसको बलिदान अर्थात मृत्यु सम्मै चलिरहेको घटना विवरण मर्कूशकाे पुस्तकमा पाइन्छ।
बप्तिष्मा पछि शैतानसँग येशू ख्रिष्टकाे जम्काभेट प्रत्यक्ष रूपमा भएकाे देखा परे तापनि उहाँकाे सामना शैतानले चलाएका वा सताएका विरामीहरू, शास्त्रीहरू र फरिसीहरू, भ्रममा परिरहेका प्रेरितहरू अर्थात चेलाहरू आदि समस्याहरूकाे सामना गरिरहनुपर्यो। शैतानले गरेको परिक्षा सहजै इन्कार गर्न कठिन परिस्थिती रहेको देखिन्छ, अर्थात सामान्य मनुष्यले यसलाई जित्न असम्भव नै हुन्छ। पहिले आदमलाई परिक्षा भए झैँ, दोस्रो आदमलाई पनि परिक्षा भयो। तर यहाँ शैतानले येशूलाई जित्न सकेन।
मर्कूशको पुस्तकले येशूको परिक्षालाई मत्ती र लुकाले भन्दा छोटकरीमा प्रस्तुत गरेको भेट्टाउँछाैं। मत्तीको पुस्तकले आफ्नो लेखाइको उद्देश्य अनुसार यस परिक्षालाई विजयी भएको र परिक्षाको पूर्ण प्रस्तुतीलाई देखाएको छ। तर मर्कूशले यसलाई छोटो रूपमा देखाए पनि, त्यो केवल उहाँको सङ्घर्षको शुरूवात हो र यसको निरन्तरता पछि सम्मै भइरहन्छ भन्ने कुरालाई देखाएका छन्।
व्यक्तिगत रूपमा भन्ने हो भने, संसारमा बसोबास गर्दै आएको हामी मानिसको निम्ती ख्रिष्टीयनहरू, विश्वासमा जिउन निकै कठिनाइहरूबाट भएर जानुपर्ने हुन्छ। ख्रिष्ट येशूलाई भएको परिक्षा जस्तै हाम्रो हाम्रो जीवनमा आत्मिक रूपमा परिक्षाहरू भइ नै रहेको पाउँदछाैं। विश्वासी जीवनको सुरूवाती देखि नै पारिवारीक, सामाजिक, राजनैतिक, धार्मिक, आफन्तहरू आदि विभिन्न क्षेत्रबाट, कुनै न कुनै रूपमा परिक्षाहरू आइ नै रहेका हुन्छन्। अप्रत्यक्ष रूपमा कहिले आर्थिक रूपमा त कहिले स्वास्थ्यमा समस्याको रूपमा, कहिले विभिन्न धर्मसँग जोडिएको सँस्कृतिहरूको तर्फबाट आउने समस्याको रूपमा पनि परिक्षाहरूको सामना गरिरहनु परेको हुन्छ। तर प्रभु येशूले गर्नुभएको बचनको प्रयोगद्वारा गर्नुभएको सामना र उहाँको क्रुसको मृत्यु पछि पाउनुभएको विजय र अधिकारले हाम्रो जीवनमा पनि परिक्षा आउँदा साहस पाउँदछाैं। हरेक ख्रिष्टियन जीवनमा यस किसिमको सङ्घर्षको अनुभव हुनु आवश्यक र महत्वपूर्ण पनि छ किनकी यसले परमेश्वरको राज्यको निम्ती परमेश्वरबाट पाउने अनुग्रह, शान्ती र अधिकारको प्रत्यक्ष महशुस गर्न पाउँदछ। यस परिक्षामाथी विजयी हुनको लागी हामीलाई पवित्र आत्माको सामर्थ पनि दिएको छ। उहाँ हामीहरूको साथमा र पक्षमा भएर हामीलाई मद्दत गर्नुहुन्छ।
अत: हामीले बुझिराख्नु पर्ने महत्वपूर्ण कुरा के हो भने - मर्कूले देखाउनुभए अनुसार, येशू ख्रिष्टको जीवनमा मृत्युसम्मै शैतानसँगको सङ्घर्ष जारी रहे जस्तै हाम्रो जीवनमा पनि यस किसिमका सङ्घर्षहरू मृत्युमा नगएसम्म चलिरहने छ। आत्मिक लडाई निरन्तर रूपमा भइरहनेछ। तर हामीले येशू ख्रिष्टले जस्तै, यसमाथी विजयी हुन सक्छाैं किनभने येशूले त्यस परिक्षामाथी विजयी हुनुभयो। साथै विजयी पवित्र आत्मा हामीहरूसँग हुनुहुन्छ।
लेखकको बारेमा
शेषनाथ निरालालेखक एल्डर कुनेढुङ्गा चर्च हेटौंडामा एल्डरको भुमिका निभाउँदै सेवाकाइमा हुनुहुन्छ।उहाँ कम्यनिटी मेडिकल एसिस्टेन्ट (CMA), एनेस्थेसिया एसिस्टेन्ट भइ हाल सिमारामा कार्यरत कार्यरत हुनुहुन्छ। यसका साथै अहिले सान केन्द्रद्वारा सञ्चालित अनलाइन बि. टि. एच. नेपाली भाषामा तेस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ।