Monday, December 8, 2025

Six Objections against Celebrating Christmas

ख्रीष्टमस सम्बन्धी उब्जिएका प्रश्नहरूको बहुपक्षीय अध्ययन

डा. मङ्गलबहादुर तामाङ[1]

 

ख्रीष्टमस नजिकिदै छ। मण्डलीभित्र मात्र नभई सबैतिर यसले अलग्गै रौनकता दिँदैछ। सबैतिर झिली र मिली छ। नेपाल र विश्वभरका मण्डलीहरूमा ख्रीष्टमस मनाउनका लागि विभिन्न प्रकारका तयारीहरू हुँदैछन्। गीतसङ्गीतहरू त्यही विषयमा बनिरहेका र गुञ्जिरहेका छन्। रुखहरू, बत्तीहरू साथै अन्य सजावटका सामानहरू किनेर सजाउने कार्यक्रम हुँदैछ। हर्ष र उल्लासका साथ बृहत् योजना बनाइरहेको यही समयमा कति ख्रीष्ट विश्वासी तथा मण्डली समुदायहरूले यसको विरोधमा विभिन्न खालका भिडियोहरू बनाउने, फेसबुक तथा अन्य प्लेटफर्ममा पोस्टहरू राख्ने गरिरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै यस लेखमा ख्रीष्टमस सम्बन्धी भएका विभिन्न विवादहरू वा प्रश्नहरूलाई एकएक गरी केलाउने प्रयास गरिएको छ। कतिपयले यस सम्बन्धमा उब्जेका प्रश्नहरूको खण्डन गर्ने प्रयास त गरिरहेका हुन्छन् तर वास्तवमा ती प्रश्नहरूको जड नै बुझेका हुँदैनन्। हुन त कतिपय प्रश्न उठान गर्नेहरूले पनि यस विषयमा भएका केही एक दुई पक्षलाई मात्र हेरेको भान हुन्छ। तर वास्तविकता बुझेर मात्र यस विषयमा तर्कवितर्क गर्नु दुबै पक्षका निम्ति लाभदायक हुन्छ। यही विचारले ख्रीष्टमस सम्बन्धी प्रश्नहरूका बाइबलीय, सांस्कृतिक, ऐतिहासिक, भौतिक तथा व्यावसायिक साथै समन्वयवाद विषयसँग सम्बन्धित व्यावहारिक कारणहरू यस लेखमा छोटकरीमा प्रस्तुत गरेको छु। तथ्य सहितको यस अध्ययनले ख्रीष्टमस सम्बन्धी छलफललाई केही न केही जानकारी मिल्नेछ र सोअनुसार अगाडि बढाउन टेवा पुग्नेछ भन्नेमा म विश्वस्त छु।

१. बाइबलीय कारण

यस किसिमका व्यक्तिहरूले बाइबलले प्राथमिकतामा राखेका शिक्षा तथा विषयहरूलाई मात्रै जोड दिने भन्ने तर्क गर्छन्। बाइबलमा जे लेखिएको छ त्यही पछ्याउने, बाइबलले जे गर भन्छ त्यहीमात्र गर्ने र अरू केही नगर्ने विचार यस विचारमा निहित छन्। यसैले निम्न दुई कारण तेर्स्याउँदै यो विचार राख्नेहरू ख्रीष्टमस बाइबलसम्मत छैन भनेर भन्दछन्:

क.   बाइबलमा ख्रीष्टमस उल्लेख छैन।

बाइबलमा अरू धेरै कुराहरू उल्लेख छन्, जस्तैः येशूको जन्मसम्बन्धी पुराना करार तथा नयाँ करारमा भएका अगमवाणीहरू, येशूका जन्मका घटनाहरू, उहाँको जन्मसँग सम्बन्धित अन्य व्यक्ति तथा घटनाहरू जस्ता धेरै कुराहरू उल्लेख छन् (मत्ती र लूका)। तर ख्रीष्टमस चाडको विषयमा बाइबल मन छ। यसको साटो प्रेरितको पुस्तकमा सङ्गति गरेको, एकै मनको भएको, एकसाथ रोटी भाँचेको, हप्ताको पहिलो दिन भेटेको जस्ता कुराहरू उल्लेख छन् (प्रेरित २:४२;२०:४)। हामीले बढी जोड दिनुपर्ने कुराहरू चाहिँ यिनै हुन्। मण्डलीले निरन्तर गर्ने कार्यहरू भनेको सङ्गति, बप्तिष्मा र प्रभुभोज हो। यस विषयमा मण्डलीमा कहिल्यै प्रश्न उठेन।

ख.  बाइबलले ख्रीष्टमस मनाउन सल्लाह वा आज्ञा दिएको पाइँदैन।

बाइबलमा जुन विषयमा प्रष्ट शिक्षा दिइएको छ, मण्डलीले धेरै समय र सामर्थ्य त्यसैमा लगाउनुपर्छ। मण्डलीको मुख्य मिसन भनेको चेला निर्माण कार्य हो। त्यस्तै प्रभुभोजमा येशूको दुःख र मृत्युलाई सम्झँदै येशूप्रभुको दोस्रो आगमन नहोउन्जेल यसको सम्झना र घोषणा गर्न आज्ञा दिइएको छ (लूका २२:१९)। त्यो भन्दा बढी हर्षोल्लासका साथ ख्रीष्टमस मनाउनु बाइबल सम्मत हुँदैन। 
 
हामीले रिफर्मेसनको समयमा मण्डलीमा भएका प्रथा तथा चालचलनलाई हैन तर बाइबललाई नै एउटै मात्र आधार मान्नुपर्ने कुरा सिकेका थियौँ। त्यसो हो भनेता ख्रीष्टमस मनाउनु बाइबलमा भएको शिक्षाभन्दा फरक हुन गयो। यो चाहिँ मण्डलीको चलनचल्ती, संस्कृति र प्रथाको निरन्तरता हो। यो गर्नु बाइबल मात्र हाम्रो अधिकारपत्र हो भन्ने शिक्षाको सरासर इन्कार हो। तर यदि बाइबलमात्र हाम्रो अधिकार हो, ख्रीष्टमसको विषय बाइबलमा कहीँ उल्लेख छैन र मनाउन कुनै आज्ञा दिइएको छैन भने त फेरि ख्रीष्टमस मनाउनु बाइबल सम्मत भएन।

२. यो अख्रीष्टियान संस्कृतिसँग सम्बन्धित छ।

ख्रीष्टमस बाइबलबाट नभई मुर्तिपूजा गर्ने धर्मबाट सुरु भएको हो। पहिला रोमी साम्राज्यको समयमा पुस महिनातिर धेरै पर्वहरू मनाउने चलन थियो। त्यसमध्ये सूर्यदेवको पूजा गर्ने पर्व प्रख्यात् हुँदै गयो। सो पर्व मनाउँदा पूजा गर्ने, उपहारहरू साटासाट गर्ने, खाने पिउने, परिवार भेटघाट गर्ने तथा मोजमज्जा गर्ने काम हुन्थ्यो।

सूर्यदेवलाई कृषि देवताको रूपमा पुज्ने गरिन्थ्यो। यसैले पहिले ख्रीष्टियानहरू त्यसमा सहभागी हुँदैनथे। त्यति मात्र नभई यसप्रकारको मुर्तिपूजालाई मन पराउँदैनथे। मण्डली र यस पर्वबीच कुनै सम्बन्ध थिएन। त्यही चाडपर्वलाई मण्डलीले निरन्तरता दिनु र मनाउनु उचित हुँदैन। यसो गर्नाले संसारको संस्कृति मण्डलीमा भित्रिएको ठहरिन्छ।

३. ख्रीष्टमसको इतिहास येशू, चेलाहरू र मण्डलीका पिताहरूसँग सम्बन्धित छैन।

येशू ख्रीष्ट हामीहरूका निम्ति पहिलो र मुख्य आधिकारिक स्रोत हुनुहुन्छ। उहाँले आफ्नो मृत्युको सम्झना गर्न प्रभुभोजको स्थापना गर्नुभयो, जुन उहाँको समयभन्दा भविष्यको कुरा थियो। यदि महत्त्वपूर्ण थियो भने उहाँले जन्मोत्सव मनाउनका लागि केही जानकारी दिन सक्नुहुन्थ्यो तर त्यो दिइएको छैन।

त्यसैगरी येशूका कुनै पनि चेलाहरूले ख्रीष्टजन्मको विषय उल्लेख गर्दै त्यसको उत्सव मनाउने कुरा सिकाउन सक्थे। ती चेलाहरूले बरु अन्य विषयमा बोले तर ख्रीष्ट जन्मोत्सव मनाउने विषय उल्लेख नै गरेनन्। यूहन्ना, लूका, मत्ती जस्ता चेलाहरू यस सम्बन्धमा मौन छन्। पछि पावलले अन्य सिद्धान्तको विषयमा सिकाए अनि प्रभुभोजको विषयमा प्रष्ट बताए। तर जन्मोत्सव मनाउने विषयमा केही उल्लेख गरेनन्। त्यतिमात्र हैन, ती चेलाहरूका चेलाहरू, जसले मण्डलीका निम्ति पत्रहरू लेखे (हुन त ती पत्रहरू सुसमाचारका पत्रहरूभन्दा पनि अगाडि लेखिएका थिए) उनीहरूले यस विषयमा केही लेखेनन्।

पहिलो, दोस्रो र तेस्रो शताब्दीसम्म पनि ख्रीष्टमस कहीँ-कतै यसको उल्लेख भएको छैन। बरु उनीहरू सुसमाचार प्रचार, मण्डली विस्तारका कामका साथै ईश्वरशास्त्रीय रूपमा गलत तथा झुटा शिक्षाहरूसँग वादवाद गरिरहेका थिए। पछि जब कन्स्टान्टाइनले जबर्जस्ती रूपमा राज्य नै ख्रीष्टियान बनाए, त्यससँगै मण्डलीभित्र संसारका संस्कृतिहरू भित्रिए। फलस्वरूप ख्रीष्टमस जस्ता अख्रीष्टियान चालचलनहरू मण्डलीमा भित्रियो, जुन मण्डलीको मध्ययुगसम्म विकास हुँदै र बढ्दै गयो। त्यसकारण ख्रीष्टमस मनाउनु तिहासिक दृष्टिले पनि उचित हैन।

 ४. पुस १० वा डिसेम्बर २५ भन्दै गलत इतिहासलाई बढावा नदिऔँ।

सबैतिर डिसेम्बर २५ भन्दै ख्रीष्टमस पर्व मनाइरहेको हुन्छ। नेपालमा नेपाली क्यालेन्डरअनुसार पुस १० मा यो चाड मनाइन्छ। यसैलाई नै प्रभुयेशू जन्मेको दिन हो भन्ने गलत सन्देश फैलिरहेको छ। हुन त संरक्षणवाद (Eastern Orthodox) ले जनवरी ७ मा ख्रीष्टमस मनाउने गर्छन्। यसको मुख्य कारण पूर्वी र पश्चिम मण्डलीहरूले फरक-फरक क्यालेन्डर प्रयोग गरिरहेका छन्। पूर्वी मण्डलीहरूमा जुलियन क्यालेन्डर (जुलियस सिजर, ४५ इ.पू.) पछ्याउने भएकोले उनीहरूले जनवरी ७ मा ख्रीष्टमस मनाउने गर्दछन्। तर पश्चिम मण्डलीहरूले ग्रेगोरियन क्यालेन्डर (पोप ग्रेगोरी, १५८२) पछ्याएको कारण डिसेम्बर २५ लाई पछ्याएका हुन्। कतिले भन्छन् कि पोप सेक्सटस जुलियस अफ्रिकानसले सन २२१ मा अफिसियल रूपमा २५ डिसेम्बरलाई ख्रीष्टमसको दिनको रूपमा घोषणा गरे। पछि यसैलाई नै आधिकारिक रूपमा स्वीकार गरियो। यो मिति वास्तवमा रोमी साम्राज्यको समयमा सूर्यदेवको पुनर्जन्म भएको दिनको रूपमा बिदा मनाउने गरिन्थ्यो। त्यसका साथै जाडोको बिदाइ गरी अब वसन्त र गृष्म ॠतुको आगमनको रूपमा पनि लिइन्थ्यो। पछि ९ औं शताब्दीतिर ख्रीष्टमस मनाउने चलन झन् बढ्दै गए तापनि असल शुक्रबार तथा पुनरुत्थान आइतबारको तुलनामा यसलाई कम नै महत्त्व दिइयो।

यी दुबै मितिहरूमध्ये कुनैको पनि ऐतिहासिक तथ्य छैन। येशूको जन्म भएको वर्ष लगभग थाहा छ तर दिन र बार कतै तोकिएको छैन। यस विषयमा न कुनै निश्चितता छ नता हुने कुनै सम्भावना नै छ। यसकारण पुस १० भनेर मनाउनु, झुटो जानकारी दिनु असल हैन। हुन त ख्रीष्टमसक दिन भन्दा पनि यसलाई मौसम वा सिजनको रूपमा पनि हेरिन्छ, जसरी रोमीहरूले १७ देखि २४ डिसेम्बरसम्म विभिन्न तरिकाले यो चाड मनाउने गर्थे। जे भए पनि येशूको ऐतिहासिकतासँग भन्दा पनि रोमी पर्वको समयसँग यो मेल खाएको प्रष्ट देखिन्छ।

५. भौतिकवाद र व्यावसायिकता

बाइबलअनुसार हामीले आत्मिक जीवनलाई बढावा दिनुपर्छ। मानिसहरूलाई रमाइलो, हाँसखेल र ख्यालठट्टा भन्दा पनि प्रार्थना, सङ्गति, बाइबल अध्ययन जस्ता महत्त्वपूर्ण आत्मिक वृध्दि गराउनुतर्फ प्रेरित गराउनु पर्छ। तर अहिलेसम्मको इतिहास हेर्दा ख्रीष्टमसलाई बढी कार्यक्रम प्रेरित, भोज र रमाइलोमा सिमित तथा नयाँ लत्ताकपडा जस्ता भौतिक कुराहरूमा मात्र केन्द्रित बनाएको देखिन्छ। किन्नेहरू के किन्ने भन्ने योजना बनाउनमा र बेच्नेहरू के बेच्ने भन्ने योजनामा व्यस्त हुन्छन्। परिवार र मण्डली बाहेक बजारमा पसलहरू सजिसजा गर्ने चलन नेपाली बजारमा पनि निकै देखिन्छ। भाटभटेनीमा ठूलो ख्रीष्टमस रुख भनेर राख्ने गरेको पाइन्छ, जसमा धेरैले फोटो खिचेर अपलोड गर्ने गर्दछन्।

उचित र आत्मिक कुराहरूमा समय लगाउने, माथिका कुराहरू सोच्नेभन्दा पनि भौतिक र तलकै कुराहरूमा मन लगाउन प्रेरित गर्छ। यसले समयको बर्बादी ल्याउँछ। साथै आर्थिक रूपमा पनि यसले विश्वासीहरूलाई भौतिक कुरामा नै बढी लगानी गर्न उत्प्रेरित गर्छ। परमेश्वरको सुसमाचार, तालिम तथा मण्डली स्थापनाका लागि गर्नुपर्ने, लगानी आफैँ खाने र रमाउनेमा नै लगाउन सिकाउँछ। कतिका लागि यो ठूलो बोझ बन्दछ। कति आर्थिक कमजोर भएकाहरूका लागि मण्डलीमा आउनु भनेको कम आर्थिक खर्च हुनु हो। यसले बचतमा पनि टेवा पुर्‍याउँछ। तर फेरि वर्षको एक चोटि त हो नि भन्दै खर्च गर्दा पहिला दशैँ दशा बनेर आएको कथा फेरि यता दोहोरिन्छ।

         ६. समन्वयवादको प्रचुरता

ख्रीष्टमस बाइबलबाट नआएको हुनाले यसमा भएका धेरै तत्त्वहरू बाइबलसम्मत भन्दा पनि कुनै संस्कृतिको छाप बोकेर आएका हुन्छन्। रोमी साम्राज्यबाट नै फैलिएर आएका ती चिन्हहरूले हामीहरूलाई परमेश्वरको वचनदेखि टाढा लाने र अन्य धर्मसँग समन्वय गर्ने सम्भावना पनि प्रचुर हुन्छ। रुख, तारा, घण्टीजस्ता चिन्हहरूको अन्य धर्ममा आफ्नै अर्थ छ। रुख र त्यसमा झुन्ड्याउने स्याउहरू तथा बत्तीहरूको प्रयोग पहिलो सत्रौँ शताब्दीतिरबाट सुरु भएको पाइन्छ। बाइबलमा ती वस्तुहरू विशेष चिन्हको रूपमा प्रयोग भएको थिएन, जुन अन्य धर्महरूमा भने प्रयोगमा छ। सान्ता क्लस, जुन सन्त निकोलसको प्रसिद्ध नाम हो। ख्रीष्टियानहरूले मनाउनुभन्दा पनि अगाडिदेखि नै यो प्रचलनमा थियो। त्यसैकारण ख्रीष्टमस अन्य दिनसँग मेल खान्छ। यसले अन्य धर्मसँग मिलेको सन्देश प्रवाह गर्छ र अलग हुनु भन्ने परमेश्वरको वचनको उल्लङ्घन गरेको प्रष्ट हुन्छ। 

 

अध्ययन स्रोतहरू
Ward, Alison. Christmas Invented and Contested. (Master’s Thesis. Queen’s University, Kingston, 2012).
Forbes, Bruce David. Christmas a Candid History. Loss Angels: University of California Press, 2007.
Christmas | Origin, Definition, Traditions, History, Date, Meaning, & Facts | Britannica (accessed December 4, 2025).
McGowan, Andrew. How December 25 Became Christmas originally appeared in Bible Review, December 2002. The article was first republished in Bible History Daily in December 2012 (accessed December 4, 2025).
Rittika Dhar, The Pagan Origins of Christmas: Saturnalia, Yule, and Other Pre-Christian Traditions, History Cooperative, August 24, 2023, https://historycooperative.org/pagan-origins-of-christmas/ (accessed December 4, 2025).
Orthodox Easter: Why are there two Easters? - BBC Newsround (accessed December 4, 2025).

 


[1] डा. मङ्गलबहादुर तामाङ काठमाडौँका विभिन्न बाइबल कलेजहरूमा अध्यापन गर्नुहुन्छ। नेपाली इभान्जेलिकल होलिनेस थियोलोजिकल सेमिनारीमा एमडिभ डिपार्टमेन्ट हेडको रूपमा कार्यरत हुनुहुन्छ। साथै नेपाल एबेनेजर फेलोसिपमा सहपास्टरको रूपमा सेवारत हुनुहुन्छ।

No comments:

Post a Comment